अब मृत्यू भैसकेका पुर्वजहरुसँग पनि कुराकानी गर्न सकिने
ऐजेन्सीः विज्ञानको विकास र प्राविधिक अनुभवले अब त्यस्तो पनि सम्भव बनाईदिएको छ । जसको कल्पना गर्न पनि असम्भवजस्तै लाग्थ्यो। के तपाईंले कहिल्यै सोच्नुभएको थियो कि सयौँ वर्षअघि बितिसकेका आफ्ना पूर्वजहरूसँग कुरा गर्न सम्भव हुन्छ ? सायद होइन। तर वैज्ञानिकहरूले अब यो असम्भवजस्तो लाग्ने कुरा सम्भव बनाईदिएका छन् । द कनभर्सेसनको प्रतिवेदन अनुसार अब विज्ञान र प्रविधिको बलमा तपाईंले आफ्ना मृत पूर्वजहरूसँग आमनेसामने बस्दै कुरा गर्न सक्नुहुन्छ। तपाईंले आफ्ना कुरा भन्न सक्नुहुन्छ । उनीहरूको हालखबर थाहा पाउन सक्नुहुन्छ। पूर्वजहरूले तपाईंका प्रत्येक प्रश्नको जवाफ दिनेछन् र मृत भइसकेपछि पनि तपाईंलाई अगाडि बढ्न सल्लाह तथा आशीर्वाद दिनेछन्।
यो कुरा सुनेर नै तपाईं अचम्ममा पर्न सक्नुहुन्छ। तर अचम्म मान्नु पर्दैन। कृत्रिम बुद्धिमत्ता (एआई) र केही अन्य प्रविधिहरूको कारण अब बितिसकेका मानिसहरूसँग कुरा गर्न सम्भव भएको छ। यद्यपि यो कुरा सुन्दा निकै डर लाग्दो र जोखिमपूर्ण लाग्न सक्छ । तर विज्ञानले यो संसारकै ठूलो चमत्कार गरिदिएको दाबी गरिएको छ। वैज्ञानिकहरूको यो दाबी तपाईंलाई आभासी वास्तविकता (वीआर) हेडसेटमार्फत कुनै काल्पनिक फिल्ममा प्रवेश गरेको जस्तो लाग्न सक्छ । जुन रोमाञ्चक र केही डर लाग्दो पनि हुन्छ। तर डिजिटल संसारमा अब यो सम्भव भइसकेको छ।
पूर्वजहरूसँग भिडियोमा कसरी कुरा हुन्छः
जब तपाईं यो डिजिटल पितासँग कुरा सुरु गर्नुहुन्छ। तपाईंले आफूलाई एक भावनात्मक रोलरकोस्टरमा पाउनुहुनेछ। त्यसपछि तपाईंले कहिल्यै नथाहा पाएका रहस्य र कथाहरू पत्ता लगाउनुहुनेछ । जसले वास्तविक व्यक्तिलाई सम्झने तरिका नै परिवर्तन गरिदिन्छ। यो कुनै टाढाको कुरा वा काल्पनिक परिदृश्य मात्र होइन। यो अब तीव्रगतिमा विकास भइरहेको डिजिटल अफ्टरलाइफ उद्योगको कारण सम्भव भएको हो। धेरै कम्पनीहरूले मृत व्यक्तिहरूको डिजिटल पद चिन्हको आधारमा तिनीहरूको आभासी पुनर्निर्माण गर्ने वाचा गरेका छन्। कृत्रिम बुद्धिमत्ता (एआई) च्याटबोट र भर्चुअल अवतारदेखि लिएर होलोग्रामसम्म, यो प्रविधिले सान्त्वना र असजिलोको अचम्मको मिश्रण प्रदान गर्दछ। यसले हामीलाई गहिरा व्यक्तिगत अनुभवमा तान्न सक्छ । जसले विगत र वर्तमान, स्मृति र वास्तविकताको बीचको रेखा धमिलो बनाइदिन्छ।
डिजिटल अफ्टरलाइफ उद्योगमा बाढी आउने संकेतः
अब पूर्वजहरूसँग भिडियो कल गराउने डिजिटल अफ्टरलाइफ उद्योग विस्तार हुँदैछ। यद्यपि यसले धेरै महत्त्वपूर्ण नैतिक र भावनात्मक चुनौतीहरू खडा गर्छ । जस्तैः सहमति, गोपनीयता र मानसिक स्वास्थ्यमा पर्ने प्रभाव । वीआर र एआई प्रविधिहरूले हाम्रा प्रियजनहरूको आभासी पुनर्निर्माण सम्भव बनाइरहेका छन्। यस क्षेत्रमा काम गर्ने कम्पनीहरूले डिजिटल व्यक्तित्व बनाउनका लागि सामाजिक सञ्जाल पोस्ट, इमेल, टेक्स्ट सन्देश र आवाज रेकर्डिङको डाटाको प्रयोग गर्छन् । जसले जीवित मानिसहरूसँग कुरा गर्न सक्छ।
यो अहिले व्यापक नभए पनि डिजिटल अफ्टरलाइफ उद्योगमा चासो राख्नेहरूको संख्या बढ्दै गएको छ। हेयरआफ्टर नामको सेवाले प्रयोगकर्तालाई आफ्नो जीवनकालमा कथा र सन्देश रेकर्ड गर्ने सुविधा दिन्छ । जुन मृत्यु पश्चात् उनका प्रियजनहरूले पहुँच गर्न सक्छन्।
मृत्यु पछि पनि सन्देशः
यो कुरा अझै चाखलाग्दो र अचम्मको छ । के मृत्यु पछि पनि कुनै व्यक्ति तपाईंलाई मोबाइलमा सन्देश पठाउन सक्छ ? अहिले तपाईंलाई विश्वास नलागे पनि यसको जवाफ ‘हो’ हुन सक्छ। माईविशिजले मृत्यु पश्चात् पनि पूर्वनिर्धारित सन्देश पठाउने सुविधा दिन्छ । जसले जीवित मानिसको जीवनमा उपस्थिति कायम राख्न सक्छ।
ह्यान्सन रोबोटिक्सले रोबोटिक बस्ट तयार पारेको छ । जसले मृत व्यक्तिको स्मृति र व्यक्तित्वको आधारमा मानिसहरूसँग संवाद गर्छ। प्रोजेक्ट डिसेम्बरले प्रयोगकर्तालाई मृत्यु भएका व्यक्तिहरूसँग कुराकानी गर्न सक्षम “डीप एआई” मा पहुँच दिन्छ। जनरेटिभ एआईले पनि डिजिटल अफ्टरलाइफ उद्योगमा महत्वपूर्ण भूमिका खेलेको छ । जसले अत्यन्तै यथार्थपरक र अन्तरक्रियात्मक डिजिटल व्यक्तित्वहरू बनाउन सम्भव बनाउँछ।
सुविधा मात्र होइन, खतरा पनि हुनसक्छः
यो प्रविधिले सुविधा मात्र होइन । खतरा पनि ल्याएको छ। अत्यधिक यथार्थपरक अनुभवले वास्तविकता र अनुकरणको बीचको रेखा धमिलो बनाउन सक्छ। यसले प्रयोगकर्ताको अनुभवलाई तीव्र बनाउन सक्छ । तर मानसिक तथा भावनात्मक तनाव पनि बढाउन सक्छ।
डिजिटल अफ्टरलाइफ प्रविधिले मृत व्यक्तिसँग निरन्तरता र सम्बन्धको भावना दिँदै शोक प्रक्रियामा सहयोग गर्न सक्छ। प्रियजनको आवाज सुन्ने वा उनको आकृति हेर्ने अवसरले सान्त्वना दिन सक्छ र क्षतिसँग जुध्न मद्दत पुर्याउन सक्छ।
हाम्रो मध्ये केहीका लागि यी डिजिटल “अमर” साधन उपचारात्मक हुन सक्छन्। यसले सकारात्मक सम्झनाहरू सुरक्षित राख्न र प्रियजनको मृत्यु पछि पनि उनीहरूसँग नजिक महसुस गर्न मद्दत गर्न सक्छ । तर अरूका लागि यसको भावनात्मक असर नकारात्मक पनि हुन सक्छ जसले पीडा घटाउने भन्दा बढाउन सक्छ। यदि प्रियजनहरूसँग अवाञ्छित अन्तर्क्रिया भयो भने मानसिक क्षति हुने सम्भावना हुन्छ। यो अन्ततः “डिजिटल डर”को कारण बन्न सक्छ।