अमेरिका र रुसबिच बहुप्रतिक्षित शिखर बैठक आज हुँदै

रूसी विदेशमन्त्री अलास्का पुगे, पुटिन जाँदै

0

ऐजेन्सीः अमेरिकाको अलास्कामा ट्रम्प र पुटिनबीच युक्रेनमा युद्धविरामबारे प्रत्यक्ष भेटवार्ता हुन लागेको हो।
भेटवार्ता अलास्काको एन्करेजस्थित अमेरिकी सेना र वायु सेनाको संयुक्त सैन्य अड्डामा हुनेछ।
दुई राष्ट्रपतिबीच अमेरिकी समयअनुसार शुक्रबार बिहान साढे ११ बजेदेखि बैठक सुरू हुने अमेरिकी मिडियाहरूले जनाएका छन्।
शिखर बैठकका लागि रूसी विदेशमन्त्री सर्गेइ लाभ्रोव अलास्का पुगिसकेको भनेर रूसी समाचार संस्था तासले जनाएको छ। उनीसँगै अमेरिकाका लागि रूसी राजदूत अलेक्जेन्डर दार्चियभ पनि अलास्का पुगिसकेका छन्।
पुटिनका मुख्यमध्येका सहयोगी युरी युशाकोभका अनुसार बैठक मस्कोको समयअनुसार शुक्रबार राति साढे १० बजे सुरू हुनेछ।
अलास्कामा ट्रम्प र पुटिनबीच वान अन वान वार्ता हुने भनिएको छ। वान-अन-वान वार्तामा दुवै पक्षका दोभाषेहरू मात्रै सहभागी हुने भनेर तासले लेखेको छ।
दुई राष्ट्रपति युक्रेनमा युद्धविराम विषयमा केन्द्रित रहेर वार्ता गर्नेछन्। त्यसबीच अन्तर्राष्ट्रिय र क्षेत्रीय सन्दर्भका समसामयिक विषयहरूमा पनि छलफल हुने भनिएको छ।
वार्ताका लागि अलास्का जाने रूसी टोलीमा विदेशमन्त्री लाभ्रोव, पुटिनका सहयोगी उशाकोभ, रक्षामन्त्री आन्द्रे बेलाउशोभ, अर्थमन्त्री एन्टोन सिलाउनोभ,विदेशसँगको लगानी र आर्थिक सहकार्यका लागि राष्ट्रपति विशेष प्रतिनिधि र रूसी प्रत्यक्ष लगानी कोषका प्रमुख किरिल दिमित्रिएभ रहेको तासले जनाएको छ।
रूसी राष्ट्रपति पुटिन भने अलास्का पुगिसकेका छैनन्।
मस्कोबाट उडिसकेका भए पनि सुदूरपूर्वी रूसको मगादानमा रोकिएका छन्। त्यहाँ उद्योग, सांस्कृतिक केन्द्र, खेलकुद सुविधा र स्मारक भ्रमण गर्ने कार्यक्रम छ। त्यसपछि पुटिन सिधै अलास्का जाने र त्यहाँ ट्रम्पसँग शिखर वार्तामा सहभागी हुने भनेर तासले लेखेको छ।

वेस्ट बैंकमा इसराइली कब्जा जस्तो मोडलमा युक्रेनसँगको युद्ध अन्त्य गर्न रूस र अमेरिकाको छलफल!
युक्रेनसँगको युद्ध अन्त्य गर्न इसराइलले वेस्ट बैंक कब्जा गरेको जस्तो मोडलबारे रूस र अमेरिकाले छलफल गरेका छन्।
सो मोडल अनुसार रूसले कब्जा गरेको युक्रेनी भूभागमा रूस सरकारको सैन्य र आर्थिक नियन्त्रण रहनेछ भनेर बेलायती पत्रिका द टाइम्सले लेखेको छ।
युद्ध अन्त्यका लागि आफ्नो कब्जामा रहेको क्राइमिया र डोनबास क्षेत्र लगायत युक्रेनी भूभाग रूसी भूमि भएको मान्यता दिनु पर्ने रूसले माग गरिरहेको छ।
तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने आफ्नो कुनै पनि भूभाग रूसलाई नदिने बताउँदै आएका छन्। त्यसो गर्न संविधानले पनि नदिने उनको भनाइ छ।
युक्रेनले आधिकारिक रूपमा आफ्नो जमिन नत्याग्ने र रूसले पनि आफ्नो नियन्त्रणमा रहेको युक्रेनी भूभाग नछोड्ने भएकाले वेस्ट बैंकको मोडलबारे रूस र अमेरिकाले छलफल गरेको मानिन्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका शान्तिदूत स्टिभ विटकफ र उनका रूसी समकक्षीबीच केही हप्ताअघि यसबारे छलफल भएको द टाइम्सले जनाएको छ।
ट्रम्पले इसराइल र हमासको युद्ध अन्त्य गर्नका लागि पनि विटकफ दूत बनाएकाले उनी सो मोडलबारे जानकार छन्।
सन् १९६७ को छ दिने युद्धपछि इसराइलले जोर्डनबाट वेस्ट बैंक खोसेको थियो। प्यालेस्टिनीको बसोबास रहेको वेस्ट बैंक इसराइलको नक्सामा नरहे पनि त्यहाँ इसराइल सरकारको सैन्य र आर्थिक नियन्त्रण छ।
सोही मोडेल अनुसार रूसको कब्जामा रहेको युक्रेनी भूभाग युक्रेनकै नक्सामा रहनेछ। तर त्यहाँ रूसी सरकारको सैन्य र आर्थिक नियन्त्रण रहनेछ।
औपचारिक रूपमा आप्नो भूभाग छोड्नु नपर्ने भएकाले त्यस्तो मोडेल युक्रेनले पनि मान्न सक्ने सम्भावना हुन्छ।
रूस-युक्रेन युद्ध रोक्न ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शुक्रबार अमेरिकाको अलास्कामा भेट गर्दैछन्।
बहुप्रतिक्षित बैठकअघि युक्रेनमा युद्धविरामबारे रणनीति बनाउन युरोपेली नेताहरूसँग ट्रम्पले बिहिबार भर्चुअल बैठक गरेका थिए।
सो बैठकमा युक्रेनको कुनै पनि भूभागको विषयमा पुटिनसँग सम्झौता नहुने उनले आश्वासन दिएका छन्।
उनले युक्रेनी भूभागबारे वार्ता गर्नु आफ्नो अधिकारक्षेत्रमा नपर्ने बताएको भनेर विभिन्न मिडियाले लेखेका छन्।
यसबाट ट्रम्पले युद्धविरामको साटोमा युक्रेनी भूभागको नियन्त्रण पाउने कुनै पनि रूसी प्रस्तावलाई स्वीकार गर्ने छैनन् भन्नेमा युरोपेली नेताहरूमा आशा पलाएको छ।
यसअघि ट्रम्पले युद्धविराम गर्दा रूस र युक्रेनबीच जमिनको अदलाबदली हुनसक्ने भनेका थिए। रूसले हालको नियन्त्रण रेखालाई आधार बनाएर युद्धविराम हुनुपर्ने भनेर अगाडिदेखि नै सर्त राखेको छ।
ट्रम्पले जमिनको अदलाबदली हुँदै दुवै देशले केही पाउने र केही गुमाउनुपर्ने बताएका थिए।
बुधबार युरोपेली नेताहरूसँगको छलफलमा भने युक्रेनी भूभागबारेको निर्णय युक्रेन आफैले गर्ने भनेको फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सिएनएनलाई बताएका छन्।
‘राष्ट्रपति ट्रम्पले भूभागसम्बन्धी विषयमा युक्रेनी राष्ट्रपतिबाहेक अरू कसैले पनि वार्ता गर्न सक्दैन भन्ने कुरा अत्यन्त स्पष्ट रूपमा भन्नुभएको छ,’ म्याक्रोंले पत्रकारहरूसँग भने।
म्याक्रोंका अनुसार ट्रम्पका दुइटा सन्देश थिए।
पहिलो अलास्कामा हुने वार्ताबाट युद्धविराम सफल गराउने र दोस्रो भूभागबारे। दुवै विषयमा ट्रम्पले प्रष्ट रहेको म्याक्रोंले बताएका छन्।
ट्रम्पसँगको युद्धविराम वार्ता सफल भए जेलेन्स्कीसहितको दोस्रो वार्ता पनि चाँडै सुरू गरिहाल्ने ट्रम्पले बताए।
भूभाग र अन्य विषयहरूको सम्झौता जेलेन्स्कीकै उपस्थितिमा र सहमतिमा गर्ने ट्रम्पले बताएका छन्।
भर्चुअल बैठकमा ट्रम्पले युक्रेनका लागि अमेरिकी भूमिकासहितको सुरक्षा ग्यारेन्टीको समर्थन व्यक्त गरेका सिएनएनले जनाएको छ।
यसलाई युरोपेली कूटनीतिज्ञहरूले सकारात्मक विकासका रूपमा लिएका छन्।
बैठक असफल भए रूसले गम्भीर परिणाम भोग्नुपर्छ भनेर ट्रम्पले चेतावनी पनि दिएका छन्।
त्यस्तै, वार्ता असफल भए रूससँग तेल खरिद गर्ने मुलुकहरूलाई पनि प्रतिबन्धहरू थपिने उनले बताएका छन्।

You might also like

Leave A Reply

Your email address will not be published.