रवि लामिछाने पुगे नख्खु कारागार
भाद्र-२८, काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागार पुगेका छन्।
उनी शनिबार साँझ ललितपुरस्थित नख्खु कारागार पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।
एसएसपी अधिकारीका अनुसार रवि अहिले कागजी प्रक्रिया मिलाउँदैछन्।
‘अहिले कागजी प्रक्रिया हुँदैछ। सुरक्षाका लागि पनि हामीले पत्राचार गरेका छौं,’ उनले भने।
यसपालि आन्दोलन क्रममा भदौ २४ गते प्रदर्शनकारीहरू नख्खु कारागार अगाडि प्रदर्शन गर्न पुगेपछि रवि कारागार प्रशासनबाट निस्किएका थिए।
कारागारमा सुरक्षा चुनौती भएपछि प्रशासनले आफूलाई निकालेको दाबी रविको छ। उनी निस्किएपछि भित्र कैदीबन्दीहरूले आगजनी गरेका थिए। त्यसपछि अरू कैदीबन्दीहरू पनि फरार भए।
नख्खुको घटनापछि अन्य कारागारहरूबाट पनि क्रमशः कैदीबन्दीहरूले भाग्न थाले। अहिले देशभर १० हजारभन्दा धेरै कैदीबन्दी कारागार बाहिर रहेको अनुमान छ।
कारागार विभाग, प्रहरी लगायतले कैदीबन्दीहरूलाई फर्किन अनुरोध गर्दै आएको छ। यस्तै उनीहरूलाई पक्राउ समेत गरी कारागार चलान गर्दै आएको छ।
नख्खु कारागारले पनि शुक्रबार कैदीबन्दीहरूलाई फर्किन अनुरोध गरेको थियो। रवि भने शनिबार साँझ कारागार फर्केका हुन्।